एकदिन राजकुमारीलाई रमाइलो गर्न मन लाग्यो । उनले सिपाहीलाई बोलाएर भनिन् तिमी मलाई साँच्चै प्रेम गर्छौ भने मलाई भोलि बिहान एउटा रातो गुलाब उपहार ल्याएर देऊ नत्र म तिमीसंग प्रेम गर्दिन । अर्कै राजकुमार संग बिहा गरेर गइदिन्छु । सिपाही हुन्छ सिवाय केही भन्न नसकेर फक्र्यो । राजकुमारीको बगैंचामा सबै सेता गुलाफका मात्र बोट थिए । त्यो देशैभरि रातो गुलाबको बिरुवा थिएन । निरास सिपाही बगैंचामै बसी विरह गर्न थाल्यो ।
साँझ पर्दै गएपछि एकजोडी बुलबुल चरा त्यहीं बास बस्न आए । निरास सिपाहीको विरह सुनेर बुलबुल जोडीले सोधे – के भयो तिमीलाई ? किन यसरी विलाप गरिरहेका छौ ? सिपाहीले आफ्नो समस्या बतायो । भोलि बिहान सम्म रातो गुलाफ राजकुमारीलाई दिन नसके उनी अर्कै देशको राजकुमारसंग बिहा गरेर जाने र आफ्नो प्रेम निरर्थक हुने सबै सुनायो । त्यसपछि बुलबुल जोडीले उसलाई वचन दिए – भोलि बिहान यही बगैंचामा राजकुमारीलाई लिएर आउनू रातो गुलाफको व्यवस्था हामी गरिदिनेछौं ।
सिपाही आश्वस्त भएर घर फर्कियो । त्यस रात रातभरि राजकुमारीको बगैंचामा प्रेम विरहका गीत गजलहरु सुनिए । राजकुमारीको मन अत्यन्तै पुलकित भयो । बिहान सबेरै सिपाही आयो । राजकुमारीले सोधिन् – रातो गुलाफ खोइ ? सिपाहीले राजकुमारीलाई बगैंचामा लिएर गयो । राजकुमारीका बगैंचामा सबै गुलाफहरु राता थिए । सिपाही र राजकुमारी अगाडि बढ्दै गए । बुलबुल चरीका जोडीहरु अझै गाउँदै थिए विरह गाना ।
नजिक पुगेपछि देखियो भाले बुलबुल आफ्नो छातीलाई गुलाफको बोटको काँडामा घोच्दै रगतले सेता गुलाफहरु रातो पार्दै थियो । पोथी बुलबुल रुँदै विरह गाना गाउँदै थिई । पोथी बुलबुलको गायनमा जति जोड हुन्थ्यो त्यति नै जोडले भाले बुलबुल आफ्नो शरीरलाई काँडामा घोच्थ्यो । यसरी रगत बग्दा बग्दा भाले बुलबुलले सबै गुलाफहरु रंगाएर रातो बनायो अनि उसको प्राण गयो । भालेको मृत्यु संगसंगै पोथी बुलबुलको विरह गायन पनि बन्द भयो र उसको पनि प्राणको गति रोकियो । दुवै चरा गुलाफका बोटबाट भूइँमा झरेर अमर भए । (अच्युत घिमिरे)